वीरगंज , १३ फागुन –
उपकार सेवा नेपालको पूर्ण सहयोगमा वीरगंज महानगरपालिका वडा नं. १३ नयाँटोल, मुर्लीमा ३० जना युवतीलाई लक्षित गरी सञ्चालन गरिएको दुई महिने कपडा सिलाइ–कटाइ तालिम कार्यक्रम सम्पन्न भएको छ।
संस्थाले आयोजना गरेको कार्यक्रममा प्रशिक्षक खुश्बु प्रबिन र शोनी प्रबिन तथा प्रशिक्षार्थीहरू सलमा प्रबिन, सकिला प्रबिन, सजरुन प्रबिन, बिस्मिल्ला प्रबिनलगायत सहभागीलाई तीन महिने सीपमूलक तालिमको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। प्रमाणपत्र वितरण उपकार सेवा नेपालकी अध्यक्ष विध्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी र सदस्य सुमन बगेडियारले गरेका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु लगायत स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो। तालिम १५/१५ जनाका दुई समूहमा सञ्चालन गरिएको थियो, जसबाट ३० जना युवती लाभान्वित भएका छन्।
यस तालिमले सहभागी युवतीहरूको सीप विकाससँगै जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। उपकार सेवा नेपालले यसअघि पनि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्थानमा योगदान दिँदै आएको जनाएको छ।









