अदालतको आदेशपछि पुनः सञ्चालनमा आएको गेष्ट हाउसका सञ्चालकलाई ज्यान मार्ने धम्की, संघद्वारा विरोध

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले आफ्ना सदस्य व्यवसायीमाथि सार्वजनिक स्थलमै ज्यान मार्ने धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कलंकी होटल तथा गेष्ट हाउस एशोसिएसनअन्तर्गत सञ्चालनमा रहेको ए-वान नारायणी गेष्ट हाउसका सञ्चालक अजित कुमार कुसुवार र घरधनी कमल उप्रेतीबीच देखिएको विवादमा उच्च अदालत पाटनले कुसुवारको पक्षमा फैसला गरेको थियो। अदालतले सम्झौता अवधिभर व्यवसाय सञ्चालनमा कुनै अवरोध नगर्न स्पष्ट आदेश दिएको थियो।

उक्त आदेश कार्यान्वयनका क्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा होटल व्यवसायी महासंघ नेपालका प्रतिनिधिको रोहवरमा व्यवसाय पुनः सञ्चालनको वातावरण तयार गरिएको संघले जनाएको छ। तर, मिति २०८२ फागुन ११ गते सोही घरधनी उप्रेतीले एशोसिएसनका अध्यक्ष सुरेश कुमार बराल र व्यवसायी कुसुवारलाई सार्वजनिक स्थानमै ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ।

संघले उक्त कार्यलाई अमानवीय, गैरकानुनी तथा आपराधिक अभिव्यक्ति ठहर गर्दै घोर निन्दा र भर्त्सना गरेको छ। अदालतको आदेशको अवज्ञा गर्दै व्यवसायिक सुरक्षामाथि धाकधम्की दिने प्रवृत्ति तुरुन्त अन्त्य हुनुपर्ने संघको माग छ।

संघले प्रहरी प्रशासन र स्थानीय निकायसमक्ष पाँच बुँदे मागसमेत अघि सारेको छ। जसअन्तर्गत धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही सुनिश्चित गर्न, सम्बन्धित व्यवसायी र उनका परिवारको सुरक्षा व्यवस्था गर्न, अदालतको आदेश प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा व्यवसायिक वातावरण सुरक्षित र कानुनसम्मत बनाउन स्थानीय निकायले सक्रिय भूमिका निर्वाह गर्न माग गरिएको छ।

यदि यस्ता गतिविधि तत्काल नरोके समग्र होटल व्यवसायी समुदाय आन्दोलनमा उत्रिन बाध्य हुनेछ, जसको जिम्मेवारी सम्बन्धित पक्षले वहन गर्नुपर्ने संघले चेतावनी दिएको छ ।

संघ सदैव कानुनको शासन, व्यवसायिक सुरक्षा र सामाजिक सद्भावका पक्षमा दृढ रहेको स्पष्ट पार्दै गैरकानुनी गतिविधिविरुद्ध एकजुट भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरुः