मदिरा बिक्री बन्दको निर्णयप्रति पर्सा मदिरा व्यवसायी संघको आपत्ति

वीरगंज , १५ फागुन –

पर्सा मदिरा व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री–वितरण पूर्णरूपमा बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रशासनले फागुन १५ गतेदेखि मत परिणाम सार्वजनिक नहुँदासम्म मादक पदार्थ बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको निर्णयले व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको संघको भनाइ छ।

संघले जारी गरेको विज्ञप्तिमा अहिले नै मदिरा व्यवसाय आर्थिक रूपमा कमजोर अवस्थामा रहेको र निर्वाचनभन्दा एक साताअघि अचानक गरिएको बन्दको निर्णयले थप समस्या सिर्जना गरेको उल्लेख छ। बैंक तथा सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई यसले गम्भीर आर्थिक संकटतर्फ धकेल्ने चेतावनी दिइएको छ।

संघका अनुसार राज्यलाई कर तिर्ने प्रमुख क्षेत्रमध्ये मदिरा व्यवसाय पनि एक हो र लामो समयदेखि राजस्वमा योगदान दिँदै आएको यस क्षेत्रलाई लक्षित निर्णयले अन्याय भएको अनुभूति भएको छ। विशेष गरी होलीजस्ता चाडपर्वको समयमा कारोबार बढ्ने अपेक्षामा रहेका व्यवसायीहरूलाई अचानक आएको बन्दको सूचनाले ठूलो नोक्सानी पुर्‍याउने जनाइएको छ।

संघले व्यवसायीहरूको वास्तविक अवस्था र पीडालाई ध्यानमा राख्दै निर्णय पुनर्विचार गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै समस्या समाधानका लागि सरोकारवाला पक्षसँग संवाद गरी उपयुक्त निकास निकाल्न आग्रह गरिएको छ।

सम्बन्धित पोस्टहरुः