वीरगंज, १५ फागुन –
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने दायित्व सरकारको भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार पर्साको सदरमुकाम वीरगंज आएका थिए। तर उनको यो भ्रमणबारे पर्साका सञ्चारमाध्यमलाई कुनै जानकारी दिइएन।
गृहमन्त्री अर्यालले राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण बनाइने तर कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीलाई छुट नदिइने स्पष्ट पारेको बताइए पनि उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएनन्।
उनी पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी तथा चारै तहका सुरक्षा निकायका प्रमुखसँग बन्द कोठाभित्र छलफल गरेर पुनः काठमाडौं फर्किएका थिए।
निर्वाचनजस्तो संवेदनशील समयमा गृहमन्त्रीको गोप्य शैलीको जिल्ला भ्रमणले पारदर्शितामाथि प्रश्न उठेको छ।
स्थानीय मिडियालाई बेवास्ता गर्दै गरिएको यस्तो भ्रमणले सरकारको उत्तरदायित्व र जवाफदेहिताप्रति नै शंका उत्पन्न गराएको सञ्चारकर्मीहरूको टिप्पणी छ।








