वीरगंज १६ फागुन । पर्सा जिल्लामा भारतसँग जोडिएका सबै सीमा नाकाहरू फागुन १८ गते राति १२ बजेबाट फागुन २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।
शनिवार सर्वदलीय, सर्वपक्षीय बैंठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विभिन्न निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको विज्ञप्तिमा पर्सा जिल्लाको समग्र शान्ति सुरक्षालाई दृष्टिगत गरी निर्वाचन आयोग तथा गृह मन्त्रालयबाट प्राप्त निर्देशन, जिल्ला सुरक्षा समितिको निर्णय एवं सर्वदलीय, सर्वपक्षीय बैंठकको निर्णय बमोजिम २०८२ फागुन १८ गते सोमवार राति १२ः०० देखि मिति २०८२।११।२१ गते बिहीवार राति १२ः०० बजे सम्मलाई पर्सा जिल्लाका भारतीय सीमासँग जोडिएका सीमानाका पूर्ण रूपमा बन्द हुने उल्लेख छ ।
यो आदेश बमोजिम गर्न गराउन हुन सम्बन्धित सबैमा अनुरोध गर्दै प्रस्तुत आदेशको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जिप्रका, पर्साले जनाएको छ ।
त्यस्तै चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा हो–हल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, जबरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गरी धार्मिक तथा साँस्कृतिक रूपमा आ–आफ्नो घर कम्पाउण्ड भित्र अरू कोही कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन, साथीसंगीहरूसँग यो पर्व मनाउन आग्रह गरिएको छ ।
कुनै पनि चौर, खुला स्थान, चौक चौराहा वा सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगितिक कार्यक्रमहरू गर्ने गरी होली तथा रमजान लगायतका पर्व मनाउन निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा वा निर्वाचन चिन्ह अंकित कुनै पनि भेष्ट, टि–सर्ट, कमिज, गम्छा, टोपी, झोला लगायतका कपडाहरू लगाई पर्व मनाउन निषेध गरिएको छ।
होली पर्व मनाउँदा अत्यधिक रूपमा मोटरसाइकल दुर्घटनामा परी धेरै जनधनको क्षति हुने गरेको देखिएकोले फागुन २० गते मोटरसाईकल प्रयोग गरि होली मनाउन निषेध गरिएको छ।
मतदानको दिन अत्यावश्यक सेवाका एम्बुलेन्स, रेडक्रस, दुध तथा औषधी बोकेको सवारी साधन, खानेपानी टयांकर, खानेपानी तथा ढल मर्मत, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरू तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा, कुटनीतिक नियोगको सवारी साधनहरूको लागि सवारी अनुमति (पास) आवश्यक नपर्ने र सवारी अनुमती पत्र (पास) आवश्यक पर्ने सवारी साधनको हकमा निर्वाचन अधिकृतको कार्यालय–जिल्ला निर्वाचन कार्यालयको सिफारिसको आधारमा निर्वाचन हुनुभन्दा दुर्ई दिन अगावै फागुन १९ गतेको दिन जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुने जिप्रका पर्साले जनाएको छ ।
कुटनीतिक नियोग बाहेक विदेशी नम्बर प्लेटको यात्रीवाहक सवारी साधनहरू निर्वाचन मौन अवधिभर निषेध गरिएको छ।
त्यस्तै फागुन १६ गते देखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म पर्सा जिल्ला भरी राजनीतिक दलको प्रचार प्रसार, कुनै पनि धार्मिक, साँस्कृतिक र सामाजिक कार्यहरूमा डि.जे. लगायतका ध्वनी प्रदुषण हुने खालका बाजा बजाउन निषेध गरिएको पनि गरिएको छ ।








