वीरगंज , १७ फागुन –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै खामेनीको मृत्यु भएको दाबी गर्दै यसलाई इरानी जनता र विश्वका लागि ‘न्याय’ भएको बताएका हुन्।
उक्त सन्देशमा ट्रम्पले खामेनीलाई ‘इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै आलोचना गरेका छन्। उनले खामेनीका कारण पीडित भएका इरानी जनता, अमेरिकी नागरिक तथा विश्वभरका मानिसहरूका लागि यो ठूलो न्याय भएको दाबी गरेका छन्।
तर, ट्रम्पको उक्त दाबीबारे इरान सरकार, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वा कुनै आधिकारिक स्रोतबाट अहिलेसम्म पुष्टि भएको छैन। इरानी पक्षबाट पनि खामेनीको मृत्युबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार सामाजिक सञ्जालमार्फत गरिएका यस्ता दाबीहरू पुष्टि नभएसम्म सावधानीपूर्वक लिनुपर्ने हुन्छ। घटनाबारे आधिकारिक जानकारी नआएसम्म ट्रम्पको भनाइलाई दाबीको रूपमा मात्र बुझ्नुपर्ने उनीहरूको भनाइ छ।









