कोटा नतोकिँदा वीरगंजमा कृषि सामग्री कम्पनीको मल थुप्रियो

वीरगंज , १७ फागुन –

जिल्ला अनुसारको कोटा निर्धारण नहुँदा र नियमित रूपमा मल भित्रिँदै जाँदा वीरगंजमा कृषि सामग्री कम्पनी लिमिटेडको मल थुप्रिएको छ। सबै गोदाम भरिएपछि थप आइरहेको मल भण्डारण गर्न कम्पनीलाई गम्भीर समस्या देखिएको छ।

कम्पनीको वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार नियमित आपूर्ति भइरहे पनि मधेश प्रदेशअन्तर्गत जिल्लाहरूका लागि कोटा नतोकिँदा वितरण हुन सकेको छैन।

लामो समयदेखि मधेश प्रदेश कृषि मन्त्रालय ले वीरगन्ज नाकाबाट भित्रिने मलको जिल्ला–जिल्लाको कोटा निर्धारण नगर्दा समस्या झन् जटिल बनेको कम्पनीको भनाइ छ। हाल गहुँ बालीका लागि युरिया र डिएपी प्रयोग भइसकेकाले बजारमा माग पनि कम रहेको जनाइएको छ।

हाल कम्पनीका आफ्नै परिसरका चार, भुटनदेवी क्षेत्रका पाँच, भाडामा लिइएका सिजी कम्पनीका दुई, नेशनल ट्रेडिङका दुई र टियारा मोटर्सका पाँच गरी जम्मा २० वटा गोदाम मलले भरिएका छन्। ती गोदाममा करिब ३५ हजार टन युरिया, ८ हजार टन डिएपी र ८ हजार टन पोटास गरी झण्डै ४९ हजार टन मल मौज्दात रहेको कम्पनीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः