वीरगंज , १७ फागुन –
जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा “निर्वाचन र आम सञ्चार” विषयक एकदिने अन्तरक्रिया कार्यक्रम आज आइतबार वीरगंजमा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयले हालसम्म सञ्चालन गरेका निर्वाचनसम्बन्धी गतिविधि र तयारीबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारले पर्सा निर्वाचन कार्यालयले गरेका कार्यहरू, मतदाता शिक्षा, आचारसंहिता कार्यान्वयन तथा व्यवस्थापन पक्षबारे जानकारी गराईन ।
अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले उठाएका निर्वाचनसम्बन्धी जिज्ञासामा निर्वाचन अधिकारी रौनियार तथा भोला दाहालले स्पष्टिकरण दिएका थिए । उनिहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा पर्सा जिल्लाका सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।








