वीरगंज , १८ फागुन –
आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मधेस प्रदेशका भारतसँग जोडिएका सबै सीमानाका आज राति १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। सीमा नाकाबन्दी फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म लागू हुनेछ।
मधेस प्रहरी प्रमुख गोविन्द थपलिया का अनुसार भारतीय सुरक्षापक्षसँग आवश्यक समन्वय र सहमतिपछि सीमा सिल गर्ने निर्णय गरिएको हो। मधेस प्रदेशका आठवटै जिल्लाका सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको प्रहरीले जनाएको छ।
नाकाबन्दी अवधिमा एम्बुलेन्स, दमकल, शववाहनजस्ता अत्यावश्यक सेवा तथा मानवीय सहायताबाहेक अन्य सबै सवारीसाधन र पैदल आवतजावत पूर्ण रूपमा निषेध गरिनेछ। खुला सीमाका कारण हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सीमा क्षेत्रमा थप सुरक्षा गस्ती र विशेष कार्ययोजना कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।









