मौन औवधि शुरु हुदै : के के गर्ने र के के नगर्ने

वीरगंज , १८ फागुन –

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार अवधि आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ। निर्वाचन आयोगका अनुसार यही फागुन ४ गतेदेखि सुरु भएको प्रचारप्रसार आज रातिसम्म मात्रै गर्न पाइने व्यवस्था गरिएको हो।

मतदानभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नहुन्जेलसम्म मौन अवधि लागू हुनेछ। यस अवधिमा मत माग्ने, भाषण, भेला, जुलुस, सामाजिक सञ्जालमार्फत प्रचार, समाचार प्रकाशन–प्रसारणलगायत निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।

मौन अवधिमा निर्वाचन प्रभावित हुने गरी आर्थिक कारोबार गरिएको पाइए उम्मेदवारी खारेजी हुनुका साथै छ वर्षसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। आयोगले मौन अवधिमा उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति अपनाइने जनाएको छ।

मौन अवधिलाई मतदाताले दबाब र प्रभावबाट मुक्त भई विवेकपूर्ण निर्णय गर्न पाउने समयका रूपमा लिइन्छ। यस अवधिमा मतदान केन्द्र व्यवस्थापन, सुरक्षा मूल्याङ्कन र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक सबै तयारी गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ। एसएमएस, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमार्फत समेत प्रचार गर्न निषेध गरिएको छ।

आगामी बिहीबार हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ ६५ दलका ३ हजार ४०६ उम्मेदवार र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। देशभर १ करोड ८९ लाखभन्दा बढी मतदाताका लागि १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ।

सम्बन्धित पोस्टहरुः