वीरगंज , १९ फागुन
आमजनता पार्टीका अध्यक्ष प्रभु साह नेतृत्वको दलका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचारप्रसारका क्रममा आक्रमण भएको छ। आक्रमणमा परेर उनको नाकको हड्डी भाँचिएको चिकित्सकले बताएका छन्।
सोमबार साँझ रौतहट–३ अन्तर्गत गुजरा नगरपालिका–६ बेदौली गाउँमा घरदैलो कार्यक्रमका क्रममा घटना भएको हो। प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रभु साहको कार्यक्रम चलिरहँदा केही विपक्षी कार्यकर्ताले डिजे बजाउँदै अवरोध गर्ने प्रयास गरेको र सोही क्रममा विवाद बढ्दा मन्सुरीमाथि धक्का तथा लाठी प्रहार भएको जनाइएको छ। मन्सुरीका अनुसार एक अपरिचित युवकले टाढाबाट लौरो प्रहार गर्दा उनको नाकमा चोट लागेको हो।
घटनापछि प्रहरी टोली पुगेर अवस्था नियन्त्रणमा लिएको थियो भने संलग्न व्यक्ति प्रहरी देख्नासाथ फरार भएका थिए। मन्सुरीको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचारपछि उनी हाल घरमै आराम गरिरहेका छन्।
घटनामा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै मन्सुरीले सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।









