रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका मतदान अधिकृतको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सेनाका अनुसार दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। यसअघि सोही दुर्घटनामा असई पर्शुराम यादवको मृत्यु भएको थियो।
रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी हिजो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका बाँकी सात जनाको काठमाडौँस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







