वीरगंज, २१ फागुन।
पर्सा जिल्लामा औसतमा करिब ६२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
पर्साका चारवटै निर्वाचन क्षेत्रको मतदान तथ्यांक औसत रूपमा निकाल्दा करिब ६२ प्रतिशत मतदान भएको हुनसक्ने जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले जानकारी दिइन्।
जिल्ला निर्वाचन अधिकारी रौनियारका अनुसार पर्सामा कुल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन्। सो आधारमा करिब २ लाख ३३ हजार ४३८ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त विवरणअनुसार—
पर्सा क्षेत्र नं. १ मा कुल ८९ हजार ६३८ मतदातामध्ये करिब ६९ प्रतिशत अर्थात् ६१ हजार ८५० मत खसेको छ।
क्षेत्र नं. २ मा कुल ९५ हजार १२० मतदातामध्ये करिब ६५ प्रतिशत अर्थात् ६१ हजार ८२८ मत खसेको छ।
क्षेत्र नं. ३ मा कुल ९६ हजार ५४२ मतदातामध्ये करिब ५५ प्रतिशत अर्थात् ५३ हजार ९८ मत खसेको छ।
क्षेत्र नं. ४ मा कुल ९५ हजार २१३ मतदातामध्ये करिब ६५ प्रतिशत अर्थात् ६१ हजार ८८८ मत खसेको जानकारी प्राप्त भएको छ।
यी सबै विवरणका आधारमा पर्साभरि कुल २ लाख ३३ हजार ४३८ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला निर्वाचन अधिकारी रौनियारले भनिन्,
“यो जानकारी निर्वाचन अधिकृतहरूले फोनमार्फत दिएका हुन्। अन्तिम तथा वास्तविक तथ्यांकमा केही संख्या थपघट हुन सक्छ। अहिले सबै कर्मचारी मतपेटिका संकलन र ढुवानीको काममा व्यस्त छन्। केही बेरमै पर्साको वास्तविक तथ्यांक सार्वजनिक गरिनेछ।”








