पर्साका चारवटै क्षेत्रमा मतगणना शुरु: चार पूर्वमन्त्री प्रतिस्पर्धामा

वीरगंज,२२ फागुन-
पर्साका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मतगणना कार्य सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले दिनुभएको जानकारी अनुसार क्षेत्र नम्बर १ र २ को मतगणना वीरगंज-१० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ भने क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरिया बजारस्थित जिल्ला उचागंल माविमा भइरहेको छ। आज बिहान ७:३० बजेका लागि डाकिएको सर्वदलीय बैठक साढे ९ बजे सम्पन्न भएपछि सोही बैठकको निर्णय बमोजिम बिहान १० बजेदेखि विधिवत् रूपमा मतगणना शुभारम्भ गरिएको हो।

पर्साका यी चारवटै निर्वाचन क्षेत्रलाई यसपटक निकै चासोका साथ ‘हट सिट’ को रूपमा हेरिएको छ। यहाँ चार जना पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका कारण प्रतिस्पर्धा निकै रोचक बनेको हो। पूर्वमन्त्रीहरू प्रदीप यादव, अजय चौरसिया, रमेश रिजाल र सुरेन्द्र चौधरी लगायतका हेभिवेट नेताहरू प्रतिस्पर्धामा छन् । चुनावी नतिजालाई लिएर आम सर्वसाधारणमा ठुलो पर्खाइ र उत्सुकता देखिएको छ।

मतगणना स्थलको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ। तारजाली भित्र र सीसीटीभीको प्रत्यक्ष निगरानीमा गणना कार्य अगाडि बढाइएको छ भने ठाकुरराम क्याम्पस र पोखरिया दुवै स्थानबाट हरेक एक-एक घण्टामा मत परिणामको अपडेट दिने तयारी गरिएको छ। मध्यान्ह १२ बजेपछि प्रारम्भिक नतिजाहरू आउन थाल्ने अनुमान गरिएको छ।

सम्बन्धित पोस्टहरुः