प्रतिनिधिसभा निर्वाचनमा एमाले शीर्ष नेतृत्वले पराजय भोग्नुपरेको छ। जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओली झापा–५ मा रास्वपाका बालेन्द्र शाह भन्दा ४० हजार ५२५ मतले पछाडि छन्। शाहले ५५ हजार ९३४ मत पाउँदा ओलीको मत १५ हजार ४०९ मात्रै छ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, भानुभक्त ढकाल र राजन भट्टराई हार बेहोरिसकेका छन्। अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि जित्ने सम्भावना देखिँदैन। दुई उपमहासचिव रघुबीर महासेठ प्रतिस्पर्धामा निकै पछि छन्। अहिलेसम्म एमालेले बाँके–२ र बझाङ बाहेक नौ स्थानमा मात्र अग्रता लिएको छ।
२०७९ को निर्वाचनमा ७८ सिटसहित दोस्रो दल बनेको एमालेका लागि यो हार अप्रत्याशित मात्र नभई पार्टी नेतृत्व, नीति र कार्यक्रमप्रति गम्भीर प्रश्न उठाएको छ। एमालेले अब निर्वाचन परिणामको पूर्ण समीक्षा गर्ने तयारी गरेको छ। उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल ले नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। रूपन्देही–२ मा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत पार्टीलाई विचलित नहुने आह्वान पनि गरेका छन्।
एमाले ०४६ सालको आन्दोलनपछि शक्तिका रुपमा उदाएको पार्टी हो। यसले विगतका निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा महत्वपूर्ण भूमिका खेलेको छ: २०४८ मा दोस्रो, २०५१ मा पहिलो, २०५६ मा दोस्रो, २०६४ मा तेस्रो, २०७० मा दोस्रो, २०७४ मा प्रत्यक्ष ८० र समानुपातिक ४१ सहित १२१ सिट, र २०७९ मा ७८ सिटसहित दोस्रो दल बनेको थियो।








