वीरगंज,२४ फागुन –
प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्म सार्वजनिक मतपरिणामअनुसार नेपाली कांग्रेसले १४ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। देशका विभिन्न जिल्लाबाट कांग्रेसका उम्मेदवार विजयी भएका निर्वाचन क्षेत्रहरू यस प्रकार छन्।
रौतहट–२ बाट मो. फिरदोश आलम २९ हजार ५२८ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्। पाँचथरबाट नरेन्द्रकुमार केरुङ १७ हजार २३३ मतसहित विजयी हुँदा श्रम संस्कृतिका हस्तराज शेर्माले १४ हजार ७३४ मत ल्याएका छन्।
हुम्लाबाट जयपति रोकाय ८ हजार ७९६ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपाका दीपेन्द्र रोकायले ७ हजार २४३ मत प्राप्त गरेका छन्। पाल्पा–१ मा सन्दिप राना १८ हजार ३३६ मतसहित विजयी हुँदा एमालेका नारायण आचार्यले १६ हजार ८१९ मत ल्याएका छन्।
सुर्खेत–१ बाट विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८९० मत प्राप्त गरेका छन्। कपिलवस्तु–३ मा अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी हुँदा रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८९० मत ल्याएका छन्।
अछाम–१ बाट भरतकुमार स्वार १० हजार ७५९ मतसहित विजयी भएका छन् भने नेकपाका भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गरेका छन्। जाजरकोटबाट खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी हुँदा नेकपाका शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत ल्याएका छन्।
डोटीबाट भरतबहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्। तेह्रथुमबाट सन्तोष सुब्बा ११ हजार ५६१ मतसहित विजयी हुँदा एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याएका छन्।
दैलेख–१ मा बासना थापा १२ हजार ३७२ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्। रसुवा–१ बाट मोहन आचार्य १० हजार ६५६ मतसहित विजयी हुँदा रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत ल्याएका छन्।
मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी भएका छन् भने एमालेका ईन्द्रधार विष्टले १ हजार ८०३ मत प्राप्त गरेका छन्। मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा नेकपाकी यशोदा गुरुङ (सुवेदी)ले ४५४ मत प्राप्त गरेकी छन्।
यससँगै हालसम्म नेपाली कांग्रेसले देशभर १४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।








