जुम्लामा रास्वपाकी उम्मेदवार कठायतको जमानत जफत

वीरगंज , २४ फागुन –

जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ। निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेपछि उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन्।

जमानत जफत हुनेमध्ये रास्वपाकी विनिता कठायत (४२१ मत), प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२ मत), नेमकिपाका विर्षबहादुर रावत (४०० मत), माओवादीका विर्ख शाही (७१ मत), नेपाल जनता पार्टीका रनील विक्रम शाही (४३ मत) र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल रहेका छन्।

प्रतिनिधिसभा सदस्यतर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही विजयी भएका छन्। उनले १४ हजार ८१६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीलाई ३ हजार २४१ मतान्तरले पराजित गरेका हुन्।

जिल्लाभर करिब ५७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। प्रत्यक्षतर्फ ४० हजार ८९७ मत खसेको छ भने समानुपातिकतर्फ ४१ हजार ६३१ मत (५८.०३ प्रतिशत) परेको थियो। जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको छ।

मत परिणामले जिल्लामा राप्रपाको पकड बलियो रहेको देखाएको छ, जबकि अन्य दलका अधिकांश उम्मेदवारले न्यून मत पाउँदा जमानत गुमाएका छन्।

सम्बन्धित पोस्टहरुः