वीरगंज , २५ फागुन —
बिहीबार सम्पन्न चुनावपछि खुलेको पहिलो शेयर बजार दिन आज नेप्से परिसूचकमा तेस्रो पटक सकारात्मक सर्किट लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक मत पाएसँगै स्थिर सरकारको आशामा लगानीकर्ता आकर्षित भएका हुन्।
आज बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। २० मिनेट रोकिएर खुलेपछि १ प्रतिशत थप वृद्धिपछि दोस्रो सर्किट ब्रेक लाग्यो। ४० मिनेट रोकिएको बजार खुल्दा १ प्रतिशत बढेर कुल ६ प्रतिशत वृद्धिपछि आजको कारोबार रोकिएको छ।
नेप्से आज १६२.९३ अंकले बढेर २,८७५.४३ विन्दुमा पुगेको छ। सबै समूहका शेयर बढेका छन्, जसमा व्यापार समूहको शेयर ७.७३ प्रतिशतले सबैभन्दा बढी उकालो लागेको छ।
आज कर्पोरेट विकास बैंक र शिवश्री हाइड्रोपावर कम्पनीका शेयर १० प्रतिशतले बढेका छन्। यस्तै, रिलाइन्स स्पिनिङ मिल्स कम्पनीको शेयर मात्र घटेर १.४९ प्रतिशत तल आएको छ।








