काठमाडौं । न्यूजिल्यान्डका क्रिकेटर जिम्मी निसमले एनपीएल फ्रेन्चाइजी पोखरा एभेन्जर्सको पोस्टमा गरेको कमेन्टले नेपाली क्रिकेटप्रेमीहरुलाई खिन्न तुल्याएको छ ।
आफ्नो तारिफ गर्दै पोखराले गरेको एउटा पोस्टमा निसमले अनपेक्षित प्रतिक्रिया जनाएका थिए । हिजो राति टि २० विश्वकपमा भारतसँग पराजित भएको न्यूजिल्यान्डको टिमका एक सदस्य हुन् निसम । फाइनल म्याचमा उनको प्रदर्शन मिश्रित रह्यो । बलिङमा उनले ४६ रन खर्चेर तीन विकेट लिए भने ब्याटिङमा ८ रन मात्रै जोड्न सके । १६ औं ओभरमा तीन विकेट लिँदै निसमले न्यूजिल्यान्डलाई खेलमा फर्काएका थिए । तर, अन्तिम ओभरमा उनी महंगा बने ।
न्यूजिल्यान्डलाई ९६ रनको विशाल अन्तरले हराउँदै भारतले उपाधि जित्यो । न्यूजिल्यान्डको पराजयलगत्तै एभेन्जर्सले आफ्नो इन्स्टाग्राम पेजमा निसमको प्रशंसा गर्दै पोस्ट गरेको थियो । ‘उनलेले पोखरा एभेन्जर्सका लागि खेलेकोमा हामीलाई गर्व छ । न्यूजिल्यान्ड उपविजेतामा सिमित हुनु दुर्भाग्यपूर्ण रह्यो,’ एभेन्जर्सले लेखेको छ ।
त्यसको कमेन्टमा निसमले जवाफ दिएका छन्, ‘कुल, पे योर प्लेयर्स (ठिक छ, तिम्रा खेलाडीहरुलाई पैसा तिर) ।
निसमको उक्त रिप्लाइमा धेरैले प्रतिक्रिया लेख्न थाले । त्यसपछि एभेन्जर्सले उक्त पोस्टमा कमेन्ट गर्न नमिल्ने बनायो । तर, त्यसको स्क्रिनसटहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भइरहेका छन् । यसले एनपीएलप्रति नै अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश जाने जोखिम बढेको छ ।
के हो पारिश्रमिक विवाद ?
एनपीएलमा आवद्ध हाइप्रोफाइल विदेशी खेलाडीहरुमध्ये एक हुन् न्युजिल्यान्डका निसम । उनले पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए । दोस्रो संस्करणमा उनलाई पोखरा एभेन्जर्सले लिएको हो । उनले एभेन्जर्सबाट सम्झौता बमोजिम ४ वटा म्याच मात्र खेलेका थिए ।
निसमले एनपीएलका लागि कुनै एड्भान्स रकम लिएका थिएनन् । नेपालमा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएलगत्तै ५० प्रतिशत रकम भुक्तानी पठाउने र त्यसको २८ दिनभित्र बाँकी रकम पठाउने गरी सम्झौता रहेको पोखरा एभेन्जर्सका मालिक सुवोध त्रिपाठी बताउँछन् । तर, राष्ट्रिय खेलकुद परिषदबाट सिफारिस आउन ढिलाइ भएकाले अहिलेसम्म भुक्तानी हुन नसकेको उनको भनाइ छ ।
नेपाल प्रेससँग कुरा गर्दै त्रिपाठीले निसमसहित टिमका कुनै पनि विदेशी खेलाडीले पैसा नपाएको बताए ।
उनीसँग गरिएको कुराकानीः
जिम्मी निसमले खेलाडीहरुलाई पैसा देउ भनेर कमेन्ट लेखेका छन्, तपाईंहरुले अहिलेसम्म पारिश्रमिक दिन नसक्नुभएको हो ?
विदेशी खेलाडीको पारिश्रमिक भुक्तानीमा आर्थिक कारणले भन्दा पनि प्रक्रियागत कारणले ढिलाइ भएको छ । यसबारे हामीले निसमलाई निरन्तर अपडेट गराइरहेका थियौं । अस्ति मंगलबार पनि हाम्रो कुरा भएको थियो । हामीले प्रक्रियाबारे जानकारी गराएपछि उनले ओके लेखेका थिए ।
सम्झौतापत्रमा पारिश्रमिक भुक्तानीबारे के भनिएको छ ?
अघिल्लो सिजनमा नै यो कन्फ्युजन आएको थियो । विदेशी खेलाडीले नेपालको प्रक्रिया नबुझेर किन ढिलाइ भयो भनेर प्रश्न उठाएका थिए । प्रक्रिया हाम्रो मात्र हातमा नभएकाले यसपाली हामीले सम्झौतामा नै वर्क परमिट र राष्ट्रबैंकबाट आउनुपर्ने अप्रुभल आइसकेपछि मात्रै पेमेन्ट गर्न सक्छौं भन्ने शर्त उल्लेख गरेका छौं । अप्रभुल कहिलेसम्म आउँछ भन्ने ओपन ह्यान्डेड राखिएको छ । अप्रुभल आउनेवित्तिकै ५० प्रतिशत र त्यसपछि २८ दिनभित्र ५० प्रतिशत दिने सम्झौतामा उल्लेख छ ।
प्रक्रियामा ढिलाइ भइसकेपछि हामीले ५०–५० प्रतिशत नगरेर र एकैचोटि १०० प्रतिशत नै पठाइदिने सोचेका थियौं । त्यो अनुसारको तयारी गरेका थियौं । खेलाडीलाई त्यो सूचना पनि गइसकेको हो ।
एप्रुभल आउन यति लामो समय किन लाग्यो ?
खासमा एनपिएलविरुद्धमा एउटा रिट अदालतमा गएको रहेछ र त्यो रिटमा एउटा अन्तरिम आदेश पनि भएको रहेछ । त्यही अन्तरिम आदेशलाई देखाएर राखेपले सुरुमा सिफारिस पत्र दिन मानेन । फेरि बीचमा राखेको सदस्य सचिव पद पनि खाली भयो । अनि अहिले आएर लामो विदा पनि भयो । चुनावपछि गर्ने भन्ने उहाँहरुको कुरा थियो ।
अहिले प्रक्रिया कहाँ पुगेको छ ?
हामीले समानान्तररुपमा खेलकुद परिषद र ग्लोबल आइएमइ बैंकमा प्रोसेस गरिरहेका छौं । सुरुमा राष्ट्र बैंकको पत्र नचाहिने भनिएको थियो । तर बैंकले राष्ट्र बैंकबाट कुनै परिपत्र आएको छैन भनेपछि उता पनि प्रोसेस गर्न थाल्यौं । पछिल्लोपटक खेलकुद परिषद र राष्ट्र बैंक दुवैतिर धाइरहेका थियौ । अहिले लामो बिदाका कारण ग्याप भयो ।
कुनै पनि विदेशी खेलाडीको पारिश्रमिक भुक्तानी भएको छैन ?
सबैको त्यही हो । कसैको पनि पेमेन्ट भएको छैन । एकमुष्ट नै प्रोसेस भइरहेको छ ।
अरु टिमले पनि त यही प्रोसेस अपनाउनुपर्ने होला, उनीहरुले कसरी दिइरहेका छन् त ?
वैधानिक प्रोसेस त सबैका लागि यही हो । कुनै अनौपचारिक तवरबाट गरिरहेको भए थाहा भएन । कसैको मालिकहरु बाहिरै बस्ने पनि छन् । उनीहरुले बाहिरै भुक्तानी दिएको पनि हुन सक्ला । हामीलाई अरु टिमको बारेमा आधिकारिक थाहा भएन ।
भनेपछि अहिले खेलकुद परिषदमै फाइल अड्किएको छ ?
अड्किएको त खेलकुद परिषदमा नै हो । उहाँहरुले पनि नेतृत्व नभएको र रिटका कारण समयमा निर्णय लिन नसक्नुभएको जस्तो लाग्छ । सुरुमा राष्ट्र बैंकको अप्रुभल चाहिँदैन भनेकोमा कमर्सियल बैंकले चाहिन्छ भनेर रोकेको अवस्था हो । यो कुरा एजेन्ट र खेलाडीलाई खबर नगरेको होइन । हाम्रो टिम उहाँहरुसित सँधै सम्पर्कमा रहेको छ ।
अरु खेलाडीले सिकायत गरेका छैनन् ?
माग्न त सबैले माग्ने नै भए । तर सबैलाई यही कुराहरु सम्झाइरहेका छौं । यो भइरहेको छ भनेर जानकारी दिएका छौं ।
विदेशी खेलाडीहरुको पारिश्रमिकबाट सरकारलाई तिर्नुपर्ने कर चाहिँ दाखिला भएको छ कि छैन ?
विदेशी खेलाडीले पाउने पारिश्रमिकमा २५ प्रतिशत सरकारलाई टिडिएस तिर्नुपर्छ । एप्रुभल नआएको कारणले त्यो पनि दाखिला भएको छैन । टिडिएस जम्मा गर्न पनि सुरुमा एप्रुभल चाहिन्छ ।
अब कहिलेसम्म पेमेन्ट होला त ?
मेरो विचारमा अर्को हप्ता पेमेन्ट जान्छ । खेलकुद परिषदलाई पनि प्रेसर परेको छ, आजको घटनाले । सायद अब ढिलासुस्ती नहोला ।
निसमले कमेन्ट लेखेपछि तपाईंहरुसँग कुरा भयो ?
हाम्रो टिमले कुरा गर्न खोजिरहेको छ । उ फाइनल हारेर भारतबाट उडिसकेको होला । ट्रान्जिटतिरै होलान् । संवाद भएको छैन । मंगलबारसम्म चाहिँ हामी संवादमै थियौं । उसले हामीलाई अफिसियल्ली कुनै सिकायत गरेको थिएन । एकाएक कमेन्ट देख्दा अलिकति आश्चर्य पनि लाग्यो ।


