पर्सामा २१३ केजी गाँजासहित ट्याक्टर नियन्त्रणमा, तस्कर फरार

वीरगंज , २६ फागुन —

पर्साको जगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।

सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले २१३ केजी गाँजा सहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पटेर्वा सुगौली–१ सोनवर्षाबाट गाँजा लोड गरेर जाँदै गरेको उक्त ट्याक्टरलाई प्रहरीले पछ्याउँदै गएको थियो। जगरनाथपुर गाउँपालिका–४ पुग्दा तस्करहरू गाँजासहितको ट्याक्टर छाडेर फरार भएका प्रहरी निरीक्षक अधिकारीले बताए।

विशेष सूचनाका आधारमा सोनवर्षाबाट गाँजा भारततर्फ लैजाँदै गरेको जानकारी पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले ट्याक्टर धनी र तस्करहरू सोनवर्षा गाउँका भएको जनाएको छ, तर उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।

बरामद गाँजासहितको ट्याक्टर इलाका प्रहरी कार्यालयमा राखिएको छ। फरार रहेका चालक, ट्याक्टर धनी र तस्करहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः