सर्लाही–४ मा कांग्रेस सभापति थापाको पराजय : बालेन फ्याक्टर निर्णायक

वीरगंज, २६ फागुन —

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट पराजित भएका छन्। निर्वाचनका लागि अप्रत्यासित निर्णय गर्दै माघ ६ गते उम्मेदवारी दर्ता गरेका थापाले यो क्षेत्र प्रचारका लागि कम समय पर्याप्त हुने विश्वासमा रोजेका थिए। तर, उनका पूर्व आकलन सफल भएन।

प्रत्यक्षतर्फ रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको लहर र प्रचार गतिविधिले क्षेत्रीय मतदातालाई आकर्षित गरेपछि कांग्रेस सभापति थापाको पक्ष कमजोर परेको विश्लेषकहरूले बताएका छन्। बालेनले क्षेत्रको रोड शोमार्फत अमेरेश सिंहलाई समर्थनको माहोल बनाएका थिए, जसले मत परिणाममा निर्णायक भूमिका खेलेको देखिन्छ।

साथै, पार्टीभित्रको आन्तरिक वैमनस्यता र स्थानीय नेताहरूको असहयोगले पनि थापाको परिणाम प्रतिकूल बनाएको पाइएको छ। उपसभापति वीरेन्द्र सिंह र पूर्व जिल्ला सभापति सुरेन्द्र सिंहसँगको विवाद र संकीर्ण क्षेत्रीय राजनीति थापाको मतलाई प्रभाव पार्ने कारक बनेको स्थानीय नेताहरूले बताएका छन्।

थापाले सर्लाही–४ मा युवा, महिला र विभिन्न समुदायसँग संवाद गर्दै प्रचार गरेका भए पनि समय र भाषाको चुनौतीले अपेक्षित मत जुटाउन सकेनन्। यादव समुदायमा मत धेरै अमरेशतर्फ गएपछि अन्य समुदायबाट आशा गरेजस्तो मत संकलन गर्न सकिएन।

पूर्व क्याम्पस प्रमुख कृष्णदेव यादवले भने, “सर्लाही–४ जस्तो क्षेत्रलाई बुझ्न नसकेसम्म नेतृत्वले अपेक्षित परिणाम पाउन सक्दैन। संकीर्ण मानसिकता भएका मतदाताले गगनजीलाई पराजित गरे, जुन मधेसका लागि दुर्भाग्यपूर्ण हो।”

यसरी बालेन फ्याक्टर, आन्तरिक वैमनस्यता, भाषागत चुनौती र समुदायगत मत विभाजनले गगन थापाको पराजय सुनिश्चित गरेको देखिएको छ।

सम्बन्धित पोस्टहरुः