वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

वीरगञ्ज, २६ फागुन (सन् २०२६, मार्च ८): भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले सन् २०२६ को अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक भव्य समारोहको आयोजना गरी महिला सशक्तीकरण र समानताको उत्सव मनाएको छ। वीरगञ्जमा आयोजित उक्त विशेष कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमा प्रमुख महिला सामाजिक कार्यकर्ता तथा शिक्षाविद्हरूले आफ्ना प्रेरक विचार र अनुभवहरू साझा गर्नुभएको थियो। कार्यक्रमका वक्ताहरूले महिलाहरूले हालसम्म हासिल गरेका ऐतिहासिक उपलब्धिहरूको चर्चा गर्दै अझै पनि उनीहरूका सामु रहेका विद्यमान चुनौतीहरू र त्यसलाई चिर्ने उपायहरूका बारेमा प्रकाश पार्नुभयो।

कार्यक्रमलाई थप आकर्षक बनाउन वीरगञ्जस्थित ज्ञानदा एकेडेमी र रक्सौलको शारदा कला केन्द्रका छात्राहरूले विशेष सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। ती प्रस्तुतिहरूले नेपाल र भारतबीचको गहिरो र साझा सांस्कृतिक विरासतलाई सुन्दर ढंगले चित्रण गरेका थिए।

सो अवसरमा सम्बोधन गर्दै महावाणिज्य दूत श्री देवी सहाय मीनाले समाज र राष्ट्रको चौतर्फी विकासमा महिलाहरूले पुर्‍याएको अमूल्य योगदानको उच्च प्रशंसा गर्नुभयो। “महिला सशक्तीकरण नै राष्ट्रको समृद्धि र मानव समुदायको शक्तिको मुख्य आधार हो,” उहाँले भन्नुभयो।

लैंगिक समानताको प्रवद्र्धन गर्ने, महिलाका सफलतालाई पहिचान दिने र एउटा समावेशी एवं न्यायसंगत समाज निर्माणका लागि सामूहिक कार्यलाई प्रोत्साहन गर्ने मूल उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ। कार्यक्रमको अन्त्यमा आयोजनाका केही झलकहरू समेत सार्वजनिक गरिएको थियो।

सम्बन्धित पोस्टहरुः