दीपक मनाङे जेलबाट छुटे, सर्वोच्चले उच्च अदालतको फैसला सदर गर्‍यो

काठमाडौँ – गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे उर्फ राजीव गुरुङ बुधबार कैद सजाय भुक्तान गरी कारागारबाट छुटेका छन्। उनी ज्यान मार्ने उद्योगको दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका थिए।

२०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा मनाङे समूह र चक्रे मिलन समूहबीच ‘ग्याङ फाइट’ भएको थियो। उक्त घटनामा मनाङेले धारिलो हतियार प्रहार गरी चक्रे मिलनको बायाँ हात छिनाइदिएका थिए। घटना पश्चात चक्रेकी श्रीमतीले मनाङेसहित पाँचजनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

प्रहरी अनुसन्धानपछि काठमाडौँ जिल्ला अदालतले उनलाई सुरुमा दुई वर्ष कैद सजाय सुनायो। त्यसपछि उच्च अदालत पाटनले ज्यान मार्ने उद्योग अन्तर्गत ५ वर्ष कैद सजाय सुनायो, जबकि अन्य आरोपितहरूलाई सफाइ दिइयो। सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरी कार्यान्वयन आदेश दियो।

मनाङेले यसअघि कैद भुक्तान गर्दै २ वर्ष आठ महिना जेल भोगिसकेका थिए। बाँकी १ वर्ष ४ महिना कैद पूरा भएपछि बुधबार उनी कारागारबाट छुटेका हुन्। सर्वोच्च अदालतको आदेश अनुसार उनले २० प्रतिशत कैद छुट पाएका छन्।

मनाङेले थुनामुक्त भएपछि बाहिरै बसेर सर्वोच्च अदालतमा पुनरावेदनको मौका पाएका थिए। मुलुकी ऐनको नयाँ व्यवस्थाअन्तर्गत १० वर्षभन्दा कम सजाय हुने मुद्दामा बाहिरै बसेर मुद्दा लड्न पाउने सुविधा उनलाई प्रदान गरिएको थियो।

सम्बन्धित पोस्टहरुः