जिराभवानीमा छिमेकीबीच झगडा, चार जना घाइते

वीरगंज, २७ फागुन — पर्साको जिराभवानी गाउँपालिका वडा नं. १ बलुवा गाउँमा दुई छिमेकीबीच भएको कुटाकुटमा चार जना घाइते भएका छन्।

स्थानीय मुनिलाल मुखिया बिन र मनिर मुखिया बिनबीच गत फागुन २० गते बिहान करिब ९ बजे झगडा भएको प्रहरीले जनाएको छ। झगडाका क्रममा दुवै पक्षबाट चार जना घाइते भएका छन्।

घाइते हुनेहरूमा मुनिलाल मुखिया बिन, उनकी श्रीमती राजकुमारी देवी, उनका छोरा धमसुनर मुखिया बिन तथा विपक्षी पक्षबाट एक जना रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। घाइतेहरूको हाल उपचार भइरहेको बताइएको छ।

मुनिलाल मुखियाले मनिरको पक्षबाट झगडामा श्यामबाबु मुखिया, किशोरी मुखिया, किशुन मुखिया, प्रकाश मुखिया र विनोद मुखिया समेत संलग्न रहेको आरोप लगाएका छन्।

घटनापछि दुवै पक्षले पर्सा प्रहरीमा जाहेरी दिएका छन्। घाइते पक्षले आफूहरूबीच मिलापत्र गराउन प्रहरीले पहल नगरेको आरोप लगाएका छन्।

यता पर्सा प्रहरीले भने दुवै पक्ष झगडामा संलग्न भई घाइते भएकोले घाउ जाँचको प्रतिवेदन माग गरिएको जनाएको छ। घाउ जाँच फारमको आधारमा दुवै पक्षबीच मिलापत्र गराउने प्रयास गरिने र मिलापत्र हुन नसके कानुनी प्रक्रिया अघि बढाइने प्रहरी प्रवक्ता बस्नेतले बताए।

पटेलनगरमा नयाँ प्रअ जैसवालको स्वागत, साहको विदाई

प्रस, परवानीपुर, २७ फागुन — वीरगंज महानगरपालिका–२१ स्थित नेराप्रावि पटेलनगरमा नयाँ प्रधानाध्यापकका रूपमा प्रदीप जैसवाल हाजिर भएका छन्। उनको एक समारोहका बीच स्वागत गरिएको छ भने विद्यालयका पूर्व प्रधानाध्यापक लक्ष्मण साहलाई विदाई गरिएको छ।

लक्ष्मण साह वीरगंज–२३ प्रसौनीबिर्ता शिवमन्दिरस्थित भुवनेश्वर प्राथमिक विद्यालयमा सरुवा भएर गएका हुन्।

वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले गत पुस २८ गते विभिन्न विद्यालयका करिब ३० जना प्रधानाध्यापक तथा शिक्षकहरूको सरुवा गरेको थियो। तर विद्यालयको चालु आर्थिक वर्षको हिसाब–किताब फर्छ्यौट तथा अन्य प्रशासनिक प्रक्रियाका कारण सरुवापछि हाजिर हुन केही समय लागेको बताइएको छ।

भुवनेश्वर प्राविबाट सरुवा भएर आएका जैसवालले पटेलनगर विद्यालयमा हाजिर भएपछि विद्यालय परिवारले स्वागत गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनकुमार पटेलको अध्यक्षता तथा वीरगंज–२१ लिपनीबिर्ताका वडा अध्यक्ष राधाकृष्ण साह रौनियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नवआगन्तुक प्रधानाध्यापक प्रदीप जैसवाल, विव्यस सदस्य ज्ञानेन्द्र पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रमका क्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरू केहीबेर भावुक बनेका थिए।

सम्बन्धित पोस्टहरुः