वीरगंज, २७ फागुन । इन्धनको अभाव तथा कालोबजारी हुन नदिन जिल्ला प्रशासन कार्यालय, पर्सामा बुधवार सरोकारवालाहरुको बैठक बसेर विभिन्न निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोख्रेलको अध्यक्षतामा बसेको बैठकले ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव तथा उपभोक्ता हित विपरीतका गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि बजार अनुगमन र उपभोक्ता हित संरक्षण सम्बन्धमा निर्णय गरेको हो।
नेपाल आयल निगम तथा ग्याँस विक्रेता संघ एवं उद्योगहरूले उपलब्ध गराएको विवरण अनुसार यस जिल्लामा ग्याँस, डिजेल, पेट्रोलको मौज्दात पर्याप्त रहेको र ग्याँस तथा डिजेल पेट्रोलको आयात सधै झै नियमित रूपमा भईरहेकोले जिल्लामा खाना पकाउने ग्याँस, पेट्रोल र डिजलको अभाव नरहेको बैठकले जनाएको छ ।
भविष्यमा अभाव हुने कुनै सम्भावना नदेखिएकोले अनावश्यक रूपमा ग्याँस, डिजेल, पेट्रोलको जम्माखोरी गर्ने, कृतिम अभाव सृजना गर्ने कार्य नगर्नु नगराउनु साथै डिजेल र पेट्रोलको खुल्ला बिक्री वितरण (ग्यालेन, ड्रम आदिमा) नगर्न नगराउन सार्वजनिक सूचना प्रकाश गर्ने निर्णय गरेको छ ।
ग्याँस डिलरहरूले आफूले ग्याँस बिक्री बितरण गरेको उपभोक्ताको नामथर, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण दैनिक रूपमा ग्याँस उद्योगमा उपलब्ध गराउने र ग्याँस उद्योगहरूले आफ्ना डिलरहरूलाई बिक्री बितरण गरेको ग्याँस सिलिण्डर (परिमाण) सहितको विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगंज तथा नेपाल आयल निगम शाखा कार्यालय, पर्सालाई समेत ईमेल मार्पmत अनिवार्य रूपमा जानकारी गराउने निर्णय गरिएको छ ।
बैठकमा प्रहरी नायब उपरीक्षक राजु कार्की, सुनिल चौरसिया, जिल्ला प्रशासन कार्यालय पर्साका सन्तोष राय नेपाल आयल निगमका मोहन कुमार साह, बीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास, उपभोक्ता मञ्च नेपालका दिनाप्रसाद गुप्ता, उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजय अधिकारी, ग्याँस विक्रेता संघका वीरेन्द्रप्रसाद साह, आशुतोष कुशवाहा, नेपाल उद्योग वाणिज्य महासंघका गुडडी कुमारी साह लगायतको सहभागिता थियो ।








