आईटी कम्पनीलाई विदेशमा लगानी गर्न सहज वातावरण बनाउँदै राष्ट्र बैंक : गर्भनर पौडेल

पर्सा, २८ फागुन –

नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वराज पौडेलले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न सहज वातावरण बनाउन राष्ट्र बैंकले पहल गरिरहेको बताएका छन्।

वीरगंज उद्योग वाणिज्य संघको ५०औँ वार्षिक साधारणसभामा बोल्दै उनले अनुभवी आईटी व्यवसायीहरूले विदेशमा लगानी गर्न चाहेको अवस्थामा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने स्पष्ट पारे। विदेशी मुद्राको सञ्चिति सन्तोषजनक रहेकोले यस्तो व्यवस्था सम्भव रहेको उनको भनाइ थियो।

गर्भनर पौडेलले व्यवसायीलाई उदार दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिँदै व्यवसाय गर्ने क्रममा गल्ती हुन सक्ने बताए। एक–दुई गल्तीका आधारमा व्यवसायीलाई थुन्ने वा उठ्न नदिने प्रवृत्ति उचित नभएको उनको धारणा थियो।

उधारो कानुन र कालोसूचीसम्बन्धी व्यवस्थाको पुनरावलोकन भइरहेको उल्लेख गर्दै उनले चेक बाउन्स वा ऋण नतिरेका कारण धेरै व्यवसायी कालोसूचीमा परेको भन्दै वास्तवमै कालोसूचीमा राख्नुपर्ने दायरा सीमित गर्ने विषयमा काम भइरहेको बताए।

कार्यक्रममा उनले पर्साको आर्थिक अवस्थाबारे जानकारी दिँदै जिल्लामा करिब ८३ अर्ब रुपैयाँ बचत रहेको र करिब ७७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको बताए। मधेश प्रदेशमा भने ३ सय ९७ अर्ब रुपैयाँ बचत रहँदा ४ सय ८३ अर्ब रुपैयाँ ऋण प्रवाह भएको उनले जानकारी दिए।

सम्बन्धित पोस्टहरुः