वीरगंज , ३० फागुन –
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अब कुनैपनि संसदीय निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट आठौं पटक कांग्रेसको उम्मेदवार बनेर पराजित भएका रिजालले शनिबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा आयोजित क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा यो निर्णय सार्वजनिक गरे ।
रिजालले निर्वाचनमा हार भएपनि क्षेत्रका जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै युवा पुस्तालाई साथ र समर्थन रहने स्पष्ट पारे। उनले कांग्रेसका पालिकामा निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवक बनेर काम गर्न सुझाव दिएका थिए।
भेलामा कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पर्साका प्रवक्ता रमेश पाण्डेय लगायत नेताहरू उपस्थित थिए।








