वीरगंज, १ चैत्र –
चालु आर्थिक वर्षको आठौँ महिना (साउन–फागुन) सम्म आइपुग्दा सरकारको राजस्व संकलन लक्ष्यको ८२.६० प्रतिशत मात्र पूरा भएको छ। अर्थ मन्त्रालय का अनुसार फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ मात्र उठेको छ।
सरकारले चालु आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। वार्षिक लक्ष्यको तुलनामा हालसम्म ५०.८० प्रतिशत मात्र प्राप्ति भएको मन्त्रालयले जनाएको छ। यद्यपि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सरकारको आम्दानी ३.०४ प्रतिशतले बढेको छ।
मन्त्रालयका अनुसार फागुनसम्म भन्सार महसुल १ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.१३ प्रतिशतले बढी हो। मूल्य अभिवृद्धि कर (भ्याट) २ खर्ब २५ अर्ब रुपैयाँ उठेको छ, जुन लक्ष्यको ९१.५२ प्रतिशत हो।
त्यस्तै अन्तःशुल्कतर्फ १ खर्ब ३३ अर्बको लक्ष्य राखिएकोमा १ खर्ब २० अर्ब रुपैयाँ संकलन भएको छ भने आयकर लक्ष्यको ७१.८३ प्रतिशत मात्र उठेको छ। फागुनसम्म २ खर्ब ३७ अर्ब आयकर उठाउने अनुमान गरिएकोमा १ खर्ब ७० अर्ब ८० करोड रुपैयाँ मात्र संकलन भएको तथ्यांकले देखाएको छ।
विभागीय रूपमा हेर्दा भन्सार विभाग ले लक्ष्यको ८४.६० प्रतिशत र आन्तरिक राजस्व विभाग ले ८१.३८ प्रतिशत राजस्व उठाएका छन्। गैरकर राजस्व भने लक्ष्यको ७५.३९ प्रतिशत मात्र संकलन भएको मन्त्रालयले जनाएको छ।








