वीरगंज , २ चैत्र –
पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनाप्रति राष्ट्रिय दलित आयोग ले चासो देखाएको छ। आयोगका सदस्य सुन्दर पुर्कुटी को नेतृत्वमा आएको टोलीले आइतबार घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गर्दै घटनाबारे जानकारी लिएको हो।
फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित व्यक्तिहरूले दलित समुदायमाथि कुटपिट गरेको घटनामा स्थानीय मालती देवी राम र उनका ७ वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन्। बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवीको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाइएको बताइएको छ।
आयोगले घटनाको वास्तविकता बुझेर पीडितलाई न्याय दिलाउन पहल गर्ने जनाएको छ। सो क्रममा आयोगको टोलीले सखुवाप्रसौनी गाउँपालिका–५ का वडाध्यक्ष असेश्वर प्रसाद यादवसँग समेत छलफल गरेको थियो।
आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा हुने कुटपिट कानुनी अपराध भएको उल्लेख गर्दै दलित समुदायमाथि हुने यस्ता घटनालाई सह्य नगर्ने बताए। भेटघाटका क्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा र सुरेन्द्र पासवान लगायतको उपस्थिति रहेको थियो।








