वीरगंज , २ चैत्र –
विद्युत् नियमन आयोग ले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ। आयोगले पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्णय गरेको हो।
उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरण ले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोगबापत मागेको बक्यौता महसुल खारेज गरी क्षतिपूर्ति दिलाउन माग गरेका थिए। तर आयोगले उक्त माग स्वीकार नगरेको हो।
प्राधिकरणका अनुसार पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार रुपैयाँ र पञ्चकन्या स्टिलले ५२ लाख ११ हजार रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको छ। प्राधिकरणको आग्रहपछि पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टिलले १ लाख ८६ हजार रुपैयाँ बुझाइसकेका छन्।
आयोगको निर्णयपछि प्राधिकरणलाई बाँकी महसुल उठाउने बाटो खुला भएको छ। निर्णयप्रति असन्तुष्टि भए उद्योगीहरूले अदालत जान सक्ने व्यवस्था रहेको बताइएको छ।








