वीरगंज , २ चैत्र –
भारतको एक अस्पतालमा आगलागी हुँदा १० बिरामीको मृत्यु
भारतको ओडिसा राज्यको कटक शहरमा रहेको एससीबी मेडिकल कलेज तथा अस्पतालको सघन उपचार कक्षमा आगलागी हुँदा कम्तीमा १० जना बिरामीको ज्यान गएको छ।
ट्रमा सघन उपचार कक्षमा विद्युत् सर्ट भई आगलागी भएको ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनाको समयमा सघन उपचार कक्षमा २३ जना बिरामी उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ।
आगलागीपछि बाँकी बिरामीलाई तत्काल अन्य वार्डमा सारिएको थियो। बिरामीहरूलाई बचाउने प्रयासका क्रममा कम्तीमा ११ जना अस्पतालका कर्मचारी जलेर घाइते भएका छन्।
यस घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै उनले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइने घोषणा पनि गरेका छन्।
यसअघि सन् २०२४ मा भारतको उत्तर प्रदेश राज्यको एक अस्पतालमा भएको आगलागीमा १० जना नवजात शिशुको ज्यान गएको थियो।








