अपाङ्गता भएका व्यक्तिहरूलाई सशस्त्र प्रहरीद्वारा घरदैलोमै पुगेर ह्विलचेयर वितरण

वीरगञ्ज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले जिल्लाका विभिन्न गाउँपालिकामा रहेका शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरदैलोमै पुगेर ह्विलचेयर सहयोग प्रदान गरेको छ। सशस्त्र प्रहरी र वीरगञ्ज हेल्थ केयर अस्पतालको समन्वय तथा सहयोगमा हिँडडुल गर्न नसक्ने चार जना व्यक्तिहरूलाई सो सहयोग उपलब्ध गराइएको हो।
सहयोग पाउनेहरूमा जिराभवानी गाउँपालिका–१ पकडीटोलाका ६२ वर्षीय प्रेम चौधरी हुनुहुन्छ। घाँस काट्ने क्रममा रुखबाट लडेर 'स्पाइनल कर्ड इन्जुरी' भई विगत दुई वर्षदेखि ओछ्यान परेका चौधरीको पारिवारिक अवस्था निकै कष्टपूर्ण रहेको जानकारी पाएपछि सशस्त्र प्रहरी उपरीक्षक (SP) मोहन बहादुर क्षेत्रीले उहाँकै घरमा पुगेर ह्विलचेयर हस्तान्तरण गर्नुभएको हो।

त्यस्तै, सोही गाउँपालिका वडा नं. २ सेढवाका ३५ वर्षीय विनोद दास थारु, धोबनी गाउँपालिका–५ का ४२ वर्षीय मनबोध चौधरी र विन्दबासिनी गाउँपालिका–३ झौवाका १० वर्षीय बालक आलोक कुमार रामलाई पनि घरमै पुगेर ह्विलचेयर प्रदान गरिएको छ। विनोद र आलोक जन्मजात अपाङ्गताका कारण हिँडडुल गर्न असमर्थ थिए भने मनबोध रोगका कारण अशक्त हुनुभएको थियो।

ह्विलचेयर हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, बोर्डर आउट पोस्ट (BOP) महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरीचन्द्र खड्का, सामाजिक अभियन्ता प्रकाश थारु, वडा अध्यक्षहरू रामशरण खवास र मनौवर अहमद लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बल नं. १३ गणले यसअघि पनि जिल्लाका दुर्गम भेगहरूमा पुगेर असहाय तथा विपन्न वर्गलाई विभिन्न किसिमका मानवीय सहयोग प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित पोस्टहरुः