वीरगंज , ३ फागुन –
इन्धन बचत गर्ने उद्देश्यले श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मध्यपूर्व क्षेत्रमा उत्पन्न तनावका कारण ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि यस्तो निर्णय गरिएको हो।
सरकारले अर्को सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी बुधवार बिदा दिने व्यवस्था गरेको जनाएको छ। यो नियम सबै शैक्षिक संस्थामा पनि लागू हुनेछ। तर स्वास्थ्य, अध्यागमनलगायत अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी निकायहरूमा भने यो व्यवस्था लागू नहुने बताइएको छ।
सरकारी कार्यालयहरू लगातार तीन दिन बन्द नहोस् भन्ने उद्देश्यले शुक्रवारको सट्टा बुधवार बिदा दिने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।
मध्यपूर्व क्षेत्रमा भएको द्वन्द्वपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ। तेल आपूर्तिमा अवरोध आउँदा ऊर्जा संकट झनै गहिरिँदै गएको छ।
ऊर्जा संकट बढेसँगै अन्य एशियाली देशहरूले पनि इन्धन बचतका लागि विभिन्न उपाय अपनाएका छन्। थाइल्यान्डले एअर कन्डिसनरको प्रयोग घटाउन नागरिकलाई छोटा बाहुला भएका लुगा लगाउन आग्रह गरेको छ भने म्यानमारले निजी सवारीसाधनलाई पालैपालो सञ्चालन गर्न अनुमति दिएको छ।
त्यस्तै बङ्गलादेशले योजनाबद्ध रूपमा लोडसेडिङ लागू गरेको छ भने फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीलाई हप्तामा कम्तीमा एक दिन घरबाट काम गर्न प्रोत्साहन गरेका छन्। भियतनामले भने सार्वजनिक सवारी प्रयोग गर्न र साइकल चलाउन नागरिकलाई आग्रह गरेको छ।








