वीरगंज , ३ फागुन –
आज देशका केही स्थानमा दिउँसोपछि हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ। प्रि–मनसुनको समयमा यस्तो मौसम सक्रिय हुने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीबाट बच्न घरको संरचना मजबुत बनाउन र हुरी चलेको बेला घरभित्रै सुरक्षित बस्न सुझाव दिइएको छ। साथै यात्रा गरिरहेकाले सुरक्षित स्थानमा बस्न र रुख तथा कमजोर संरचना नजिक नजान आग्रह गरिएको छ।
हिजो काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हुरीबतास, चट्याङ्ग र असिनासहित वर्षा भएको थियो। केही ठाउँमा घरका छाना उड्नुका साथै रुख ढल्दा जनधनको क्षति भएको छ। उदयपुरको कटारीमा हावाहुरीका कारण दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङ्ग र असिनासहित हल्का वर्षाको सम्भावना छ। साथै राति गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा सामान्य बदली तथा अन्य प्रदेशका केही भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।








