एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि भएका छन्ः मुख्यमन्त्री यादव

जनकपुरधाम, ३ चैतः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ ।

एक सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले छोटो अवधिमै सरकार जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्न सफल भएको बताउनुभयो ।

मुख्यमन्त्री यादवले  शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी गर्नुभयो । “स्वास्थ्य क्षेत्रतर्फ अस्पतालको स्तरोन्नति, आवश्यक जनशक्ति व्यवस्थापन तथा औषधिको सहज आपूर्ति सुनिश्चित गरिएको छ । शिक्षा क्षेत्रमा विद्यालय सुधार, शिक्षक व्यवस्थापन तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गरिएको छ”, उहाँले भन्नुभयो,“कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई अनुदान, मल–बीउको उपलब्धता तथा सिँचाइ प्रणाली सुधारमा पनि महत्त्वूर्ण काम भएका छन् । पूर्वाधार विकासअन्तर्गत सडक, पुल तथा खानेपानी आयोजनाहरूलाई तीव्रता दिइएको छ ।”

मुख्यमन्त्री यादवले सुशासन र पारदर्शीतालाई प्राथमिकता दिँदै सेवा प्रवाहलाई सरल बनाउनुका साथै डिजिटल प्रणालीको प्रयोग विस्तार गरिएको बताउनुभयो । साथै, बेरोजगारी न्यूनीकरणका लागि सीपमूलक तालिम तथा रोजगारी सिर्जना कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री यादवले आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

रासस

सम्बन्धित पोस्टहरुः