वीरगंज , ४ फागुन –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर मंगलबार वीरगंजमा सर्वदलीय बैठक सम्पन्न भएको छ। नेकपाको आयोजनामा बसेको बैठकले उक्त प्रकरणमा साझा धारणा बनाउँदै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चौधरी पक्राउ प्रकरणको अनुसन्धानमा ढिलाइ भइरहेको आरोप लगाएको छ। सहभागी नेताहरूले अनुसन्धान प्रक्रिया अनावश्यक रूपमा लम्ब्याइएको भन्दै तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
बैठकमा विभिन्न दलका नेताहरूले प्रहरी नेतृत्वले राजनीतिक दलका प्रतिनिधिहरूसँग समन्वय नगर्ने तथा जनताका गुनासोसमेत नसुन्ने गरेको आरोप लगाए। सोही आधारमा प्रहरी प्रमुखको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बुधबार पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिकेसन जाने निर्णय गरिएको छ।
बैठकले मनोज चौधरीले आफ्नै सवारीसाधनमा विस्फोटक पदार्थ राख्न नसक्ने भन्दै उनलाई फसाउन षड्यन्त्र भएको हुन सक्ने निष्कर्ष निकालेको छ। घटनाको यथाशीघ्र निष्पक्ष अनुसन्धान गरी जिल्ला अदालतमा प्रतिवेदन पेश गर्न माग गरिएको छ।
बैठकका निर्णयहरू संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने र प्रमुख जिल्ला अधिकारीसँग भेट गरी मागहरू पेश गरिने जनाइएको छ।
नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उल्लेखनीय छ, फागुन १९ गते बा १० च १२५० नम्बरको गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा मनोज चौधरीसहित चार जना विगत १५ दिनदेखि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान जारी राख्दै म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ।








