इटाभट्टामा काम गर्ने आमाबुवाको छोरी सांसद भइन्

धनुषा । इटा भट्टामा काम गर्ने आमाबुवाको छोरी, बाल्यकालमा धुलो र पसिनामा हुर्किएकी २५ वर्षकी युवती… आज उनी नेपालको संसदमा पुगेकी छन् । श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रुबिना कुमारी ठाकुर (रूबी कुमारी ठाकुर) को यो यात्रा सामान्य होइन – यो गरिबी, मेहनत र नयाँ राजनीतिको प्रेरणादायी कथा हो ।

धनुषाकी रुबिना ठाकुरका बुवा इटा भट्टामा काम गर्थे, अहिले विदेशमा छन् । आमाले पनि कडा मेहनत गरेर परिवार चलाइन् । तर रुबिनाले हार मानेनिन् । उनले डिप्लोमा सिभिल इन्जिनियरिङ पढिन्  । पढाइ र संघर्षको बाटोमा उनी कहिल्यै रोकिनन् ।

श्रम संस्कृति पार्टीले मधेसी  महिला कोटाबाट उनलाई समानुपातिक सांसद बनाएको छ । पार्टी प्रवक्ता सत्य घलेका अनुसार यो निर्णयले पार्टीले गरिब, सीमान्तकृत र मधेसी महिलालाई सम्मान दिएको छ । रुबिना ठाकुरले भनिन् – “मेरो बुवा इटा भट्टामा काम गर्नुहुन्थ्यो, मलाई संसद पुग्ने सपना थियो । अब जनताको सेवा गर्नेछु ।”

धरानको मेयरबाट राजीनामा दिएर नयाँ पार्टी बनाउने हर्क साम्पाङको ठूलो बलिदानले नै यस्ता आवाजहरूलाई संसदसम्म पुर्‍याएको छ । हर्कले पद छोडेर ‘श्रम र संस्कृति’ को राजनीति गरे । त्यही त्यागको कारणले आज रुबिना जस्ती गरिब छोरीले संसदमा प्रतिनिधित्व गर्न पाएकी छन् । यो नयाँ राजनीतिको सच्चा उदाहरण हो – पद होइन, जनताको आवाज हो ।

रुबिना ठाकुरको यात्राले देखाउँछ – गरिबीले सपना मार्दैन, मेहनतले उडान दिन्छ । उनी अब संसदमा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र सीमान्तकृत समुदायका मुद्दा उठाउने तयारीमा छन् । 

सम्बन्धित पोस्टहरुः