को हुन ट्रान्सजेन्डर सांसद भूमिका ?

पर्सा, ४ फागुन –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ आदिवासी–जनजाति कोटाबाट भूमिका श्रेष्ठ नेपालको पहिलो पारलैंगिक महिला सांसद बनेकी छन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट संसद्‍मा पुग्ने उनी दोस्रो व्यक्ति हुन्।

यसअघि उक्त समुदायबाट सुनिलबाबु पन्त सांसद बनेका थिए। पन्तकै प्रेरणाबाट राजनीतिमा सक्रिय भएकी भूमिकाले करिब दुई दशकदेखि समुदायको हकहितका लागि काम गर्दै आएकी छन्।

काठमाडौंको चन्द्रगिरि नगरपालिका–१४ निवासी ३८ वर्षीया भूमिकाले किशोर अवस्थादेखि नै नीलहिरा समाजमार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि संघर्ष गर्दै आएकी हुन्। उनले नीतिगत तहमा समुदायको आवाज कमजोर रहेको महसुस गर्दै राजनीतिमा प्रवेश गरेको बताएकी छन्।

बाल्यकालदेखि नै लैंगिक पहिचानका कारण सामाजिक विभेद, उपहास र शैक्षिक अवरोध भोगेकी भूमिकाले अनेक चुनौती पार गर्दै आफ्नो पहिचान स्थापित गरेकी हुन्। उनले महिला पहिचानसहित नागरिकता प्राप्त गर्न लामो संघर्ष गर्नुपरेको थियो।

अन्ततः मन्त्रिपरिषद्को निर्णयपछि उनले महिला पहिचानमै नागरिकता प्राप्त गरेकी थिइन्। त्यसपछि उनी अझ सक्रिय रूपमा समुदायको अधिकारका लागि लागेकी हुन्।

उनले सन् २०१९ मा अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली व्यक्तित्वको सूचीमा स्थान पाएकी थिइन् भने सन् २०२२ मा ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित भएकी छन्। साथै नेपाल सरकारले प्रदान गर्ने ‘जनसेवा श्री–२०७८’ बाट पनि विभूषित भएकी छन्।

अब सांसद बनेपछि समुदायको आवाज संसद्‍मा सशक्त रूपमा उठाउने र भविष्यमा अरूले आफूले भोगेका कठिनाइ नदोहो¥याउन पहल गर्ने उनको प्रतिबद्धता छ।

सम्बन्धित पोस्टहरुः