लालबन्दीमा तेस्रो महोत्सव सुरु, स्थानीय उत्पादन र व्यापार प्रवर्द्धनमा जोड

पर्सा , ४ फागुन –

उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा “तेस्रो लालबन्दी महोत्सव २०८२” भव्य रूपमा उद्घाटन भएको छ। “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नारासहित सुरु भएको महोत्सव चैत १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको महोत्सवमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मन्त्री पटेलले स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तारले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले महोत्सवले स्थानीय उत्पादन, कला र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले निजी क्षेत्रको सशक्तिकरणमा सहयोग पुर्‍याउने धारणा राख्नुभयो।

लालबन्दी नगरपालिका–९ बस्तिपुरस्थित भुदेव खाद्य उद्योग परिसरमा आयोजना गरिएको महोत्सवमा कृषि, घरेलु उत्पादन, हस्तकला तथा विभिन्न उपभोग्य वस्तुका स्टल राखिएका छन्। साथै, मनोरञ्जनका विविध खेल, सांस्कृतिक कार्यक्रम र प्रतियोगिताहरू पनि महोत्सवका आकर्षणका रूपमा रहेका छन्।

महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार तथा पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः