वीरगंज, ४ फागुन –
नेपालको दोस्रो र उपत्यका बाहिरको पहिलो आँखा अस्पतालको रूपमा फाल्गुन १२, २०३१ विक्रम संवत (२४ फेब्रुअरी १९७५) मा वीरगंजका केडिया परिवारद्वारा स्थापना गरिएको यस अस्पतालले ५१ वर्षको अवधिमा २८ लाखभन्दा बढी बिरामीको आँखाजाँच र ४ लाखभन्दा बढी शल्यक्रिया सम्पन्न गरेको छ।
वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब्स डिष्ट्रीक्ट ३२५ की मल्टिपल चेयर पर्सन लायन श्रीमती मिलन थापाले उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा नेपाल नेत्रज्योति संघका बरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेल, लायन्स क्लबका गभर्नर विनय बस्नेत, पी.डी.जी. रमेश कुमार अग्रवाल र गभर्नर इलेक्ट रामविहारी पाण्डे लगायत विशिष्ट अतिथिहरू उपस्थित थिए।
अस्पतालले वार्षिकोत्सवको अवसरमा बारा र पर्सा जिल्लाका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट १२ र १६ मा २८ थान स्ट्रेचर तथा दृष्टिविहीन विद्यालयलाई ३ थान स्ट्रेचर प्रदान गरेको थियो। यसैगरी ५ जना दृष्टिविहीन र १ जना बहिरा विद्यार्थीलाई छात्रवृति प्रदान गरियो भने एक जना अपाङ्ग व्यक्तिलाई व्हीलचेयर उपलब्ध गराइएको थियो।
यस वर्षको हीरालाल केडिया ज्योर्तिगमय सम्मान नेत्र विशेषज्ञ डा. विद्या प्रसाद पन्तलाई प्रदान गरिएको थियो। डा. पन्तले तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गरी विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मान प्राप्त गरिसकेका छन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार केडियाले अस्पतालको हालको सेवाहरू, ६ वटा आँखा उपचार केन्द्रमार्फत दूर-दराजका जनतामा सेवा उपलब्ध गराउने, नयाँ अत्याधुनिक अस्पताल भवन निर्माण तथा जापानसँग प्रशिक्षण कार्यक्रम सञ्चालन जस्ता योजनाहरूको जानकारी दिएका छन्।
वार्षिकोत्सव कार्यक्रममा सांस्कृतिक कार्यक्रम र रात्रि भोजसमेत आयोजना गरिएको थियो।









