‘बाजेको सेकुवा’की सञ्चालक भण्डारी बनिन् सांसद

वीरगंज, ५ फागुन –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी नितिमा भण्डारी (कार्की) सर्लाही–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई ३६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै ४४ हजार ९१९ मतसहित जित हासिल गरेकी हुन्।

करिब १० वर्षदेखि ‘बाजेको सेकुवा’ सञ्चालन गर्दै आएकी नितिमाले चुनावअघि मात्र रास्वपा प्रवेश गरेकी थिइन्। लामो राजनीतिक अनुभव नभए पनि व्यवसायिक क्षेत्रमा फ्रेन्चाइज विस्तार र मसला उद्योग सञ्चालनको अनुभवका आधारमा उनी राजनीतिमा होमिएकी हुन्।

नितिमाले मधेस क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा कमजोर रहेको उल्लेख गर्दै यी क्षेत्रमा सुधार गर्ने योजना अघि सारेकी छन्। सर्लाहीमा सडक, सिँचाइ र किसानका उत्पादनको बजारीकरणका समस्या समाधान गर्न पनि पहल गर्ने उनको प्रतिबद्धता छ।

किसानको उत्पादनको न्यूनतम मूल्य निर्धारण, बिचौलिया नियन्त्रण र आयातमा कडाइ गर्ने नीति ल्याउने तयारी रहेको उनले बताएकी छन्। साथै, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र जनतासँग निरन्तर सम्पर्कमा रहने सांसद बन्ने उनले प्रतिबद्धता जनाएकी छन्।

सम्बन्धित पोस्टहरुः