लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय अझै विभेदको सामना गर्दै

मधेश, ५ फागुन –

वीरगंज, सर्लाही, पर्सा र रौतहटका तेस्रोलिंगी समुदायका सदस्यहरूले विद्यालय, परिवार, समाज र कार्यस्थलमा भोगिरहेका विभेद, अपमान र असुरक्षाबारे अनुभव साझा गरेका छन्। ३० वर्षअघि भन्दा अहिले केही सहजता आए पनि उनीहरू अझै खुला रूपमा आफ्नो पहिचानसहित जीवन बाँच्न सकिरहेका छैनन्।

वीरगंजकी सञ्जु महतो भन्छिन्, “पहिले विद्यालय र कलेजमा अपमान सहनुपथ्र्यो, अहिले केही सुधार भए पनि अझै परिवर्तनको खाँचो छ।” पर्साका साहिल खाँन र सर्लाहीकी माधुरी साहले पनि बाल्यकालदेखि परिवार र विद्यालयबाट भोगेका दुव्र्यवहारको कथा सुनाउँदै, “परिवार नै सुरक्षित स्थान हुनुपर्ने हो तर त्यहीँबाट सबैभन्दा बढी घाउ लाग्यो” बताएका छन्।

समाजमा अझै पनि ‘छक्का’, ‘हिजडा’ जस्ता शब्दले तिनीहरूलाई पीडा दिने गरेको र विद्यालय तथा कार्यालयमा समान अवसर नपाउँदा पढाइ छोड्न बाध्य भएको देखिएको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका उदाहरणले पनि तेस्रोलिंगी विद्यार्थीले निरन्तर दुव्र्यवहार भोग्दै पढाइ छोड्न बाध्य हुने अवस्था पुष्टि गरेको छ।

ब्लु डायमण्ड सोसाइटीका जीना राणाका अनुसार शिक्षा नीतिमा स्पष्ट व्यवस्था नहुँदा तथा पाठ्यपुस्तकमा जानकारीमूलक सामग्री नहुँदा विभेद बढेको छ। तर केही विद्यालय र पालिकाहरूले सचेतनामूलक अभियान सुरु गरी छात्रवृत्ति र संरक्षणका पहलहरू थालेका छन्।

समुदायका सदस्यहरूको माग भने सानो छ – “सम्मान, रोजगारी, अवसर, पहिचान र शिक्षा सहित बाँच्न पाउन। हामी पनि यही देशका नागरिक हौँ।” राष्ट्रिय तथ्यांक अनुसार जनगणना–२०७८ मा ३ हजार अन्य लिङ्गी देखिए पनि अभियानकर्मीहरूको अनुमान अनुसार नेपालमा ६–७ लाख तेस्रोलिंगी व्यक्तिहरू बसोबास गर्छन्।

संविधानले अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा कार्यान्वयन कमजोर हुँदा उनीहरू अझै विभेद, उपेक्षा र बहिष्कारको चक्रमा फँसेका छन्।

सम्बन्धित पोस्टहरुः