वीरगंज , ६ फागुन –
शहीद स्मारक महिला राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित भएको छ। पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै प्रतियोगिता स्थगित गरेको हो।
लिगमा सहभागी ९ वटा क्लबलाई पत्राचार गर्दै एन्फाले अर्को सूचना नभएसम्मका लागि महिला लिग स्थगित भएको जानकारी दिएको छ। एन्फाको आयोजनामा लिग गत बुधवारदेखि सञ्चालनमा आएको थियो।
अघिल्लो निर्णयअनुसार, राष्ट्रिय लिग फुटबल पनि अनिश्चितकालका लागि स्थगित भएको थियो। अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका खेलाडीलाई नियम विपरीत खेलमा सहभागी गराएमा कारबाही हुने चेतावनी दिइसकेको छ।









