वीरगंज, ६ चैत । वीरगंज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको २० लाख भन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन् ।
भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार तुराहालाई सशस्त्र प्रहरीले वीरगंज भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको सिटकभर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपियाँ र भारू ६ सय रुपियाँँ बरामद भएको हो ।
बरामद भएको उक्त रकमको तुराहाले श्रोत खुलाउन नसकेपछि रकम र मोटरसाइकलसहित तुराहालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
अवैध रकम र मोटरसाइकलसहित पक्राउ परेका तुराहालाई आवश्यक कारबाहीका लागि शुक्रवार नै वीरगंज भन्सार कार्यालयमा बुझाइएको निरौलाले बताए ।








