मधेसमा ४० विद्यालय भवन निर्माण गर्ने ‘विल्डअन’को योजना

वीरगंज, ७ फागुन –

विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै ‘विल्डअन’ नेपालले मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालय भवन निर्माण गर्ने योजना अघि बढाएको छ। सन् २०२६ भित्र लक्ष्य पूरा गर्नेगरी काम सुरु गरिएको हो।

सिरहाको लहानमा शुक्रबार आयोजित कार्यक्रममा ‘विल्डअन’ नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौता गरिएको छ। सम्झौतापछि लहान–२ को भानु आधारभूत विद्यालय, लहान–१ को सिंगराही मटियर्वा विद्यालय र लहान–४ को मधेस सहिद विजय सहनी आधारभूत विद्यालयमा भवन तथा शौचालय निर्माणको शिलान्यास गरिएको छ।

कार्यक्रममा निर्मला चौधरी र महेशप्रसाद चौधरी सहभागी थिए। निर्माणमा संस्थाले करिब ३३ लाख रुपैयाँ र नगरपालिकाले १५ लाख रुपैयाँ योगदान गर्नेछ भने स्थानीय समुदायको श्रमदान अनिवार्य गरिएको छ।

संस्थाका अनुसार सिरहामा २० र समग्र मधेस प्रदेशमा ४० विद्यालय भवन निर्माण गर्ने लक्ष्य छ। प्रत्येक भवन निर्माण तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने योजना रहेको जनाइएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘विल्डअन’ले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माण गर्दै आएको छ। हालसम्म नेपालका विभिन्न प्रदेशमा सयौँ विद्यालय भवन निर्माण गरिसकेको संस्थाले जनाएको छ।

सम्बन्धित पोस्टहरुः