वीरगंज , ७ फागुन –
प्रविधि क्षेत्रमा एउटा चर्चित परियोजना असफल भएको समाचार सार्वजनिक भएको छ। मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले भविष्यको इन्टरनेटको रूपमा प्रचार गरेको मेटाभर्स अन्ततः सफल हुन सकेको छैन। पाँच वर्षमा अर्बौं डलर लगानी भए पनि मेटाले आफ्नो भर्चुअल रियालिटी प्लेटफर्म होराइजन वर्ल्ड्स बन्द गर्ने निर्णय गरेको छ।
कम्पनीका अनुसार यो प्लेटफर्म आगामी जुन १५ भित्र पूर्णरूपमा बन्द हुनेछ। मार्च अन्त्यसम्म यसलाई मेटा क्वेस्ट स्टोरबाट हटाइने छ र त्यसपछि प्रयोगकर्ताले केवल मोबाइल एपमार्फत मात्र प्रयोग गर्न सक्नेछन्, जसले भिआर अनुभवलाई लगभग समाप्त बनाउनेछ।
मेटाभर्समा गरिएको लगानीका कारण मेटाले करिब ८० अर्ब अमेरिकी डलर घाटा बेहोर्नुपरेको छ। सन् २०२० यता रियालिटी ल्याब्स डिभिजन लगातार घाटामा रहेको थियो। यसले कर्मचारीहरूमाथि पनि असर पारेको छ; जनवरीमा १ हजार कर्मचारी हटाइएका थिए भने आगामी दिनमा १५ हजारसम्म कटौती हुने सम्भावना रहेको छ।
मेटाभर्स डिजिटल भर्चुअल संसारको अवधारणा थियो, जहाँ प्रयोगकर्ताहरूले आफ्ना अवतारमार्फत भेटघाट, काम र मनोरञ्जन गर्न सक्ने गर्थे। फेसबुकले सन् २०२१ मा आफ्नो नाम परिवर्तन गरी मेटा राख्दै यसलाई भविष्यको इन्टरनेटको रूपमा प्रचार गरेको थियो। तर, पूर्व कर्मचारी वसुमान मोजाले असफलताको मुख्य कारण व्यवस्थापनको कमजोरी रहेको बताएका छन्। उनका अनुसार कम्पनीले युवाहरूको प्रविधि उपयोगको व्यवहार बुझ्न सकेन र अनावश्यक परियोजनामा टिम लगाएर लगानी खेर फालिएको छ।
मेटाभर्स असफल भए पनि कम्पनीले एआई र स्मार्ट चश्मामा ध्यान केन्द्रित गरिरहेको छ। रेबन स्मार्ट चस्मा ७० लाख गोटाभन्दा बढी बिक्री भइसकेको छ। साथै नयाँ एआई मोडेल एभोकाडो आन्तरिक परीक्षणमा असफल भएपछि स्थगित गरिएको छ र मोल्टबुक खरिद गरी एआई क्षमता सुदृढ गर्ने तयारी भइरहेको छ।
विश्लेषकहरूले मेटाभर्सको असफलतालाई प्रविधि उद्योगका लागि महत्त्वपूर्ण पाठ बताउँदै, केवल ठूलो लगानीले सफलता सुनिश्चित नहुने र प्रयोगकर्ताको आवश्यकता नबुझ्दा भविष्यका अवधारणाहरू पनि असफल हुने प्रमाण भएको बताएका छन्।









