वीरगंज, ७ फागुन –
विश्व वातावरण दिवसको अवसरमा वीरगंज महानगरपालिका–२१, परवानीपुरस्थित स्वास्थ्य चौकी तथा श्रीराम जानकी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
नेपालकै प्रतिष्ठित औद्योगिक घराना एमभी दुगड समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको उक्त कार्यक्रममा करिब ५६ वटा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएका छन्।
कार्यक्रममा सह-अध्यक्ष सुभम दुगडले समूहको पहलमा देशका विभिन्न सार्वजनिक स्थानहरुमा हालसम्म ३६५ वटा बिरुवा रोपिएको जानकारी दिए। उनले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
दुगड समूह मातहत रहेको जितपुर छाता पिपरा स्थित विवेक अटोमोबाइल्सका मार्केटिङ प्रमुख शिवकुमार सिंहले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमुखी कार्यक्रमहरु सञ्चालन गरिँदै आएको बताए।
वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि सुभम दुगडसहित वीरगंज–२१ लिपनी विर्ताका वडाध्यक्ष राधाकृष्ण रौनियार, विवेक अटोमोबाइल्सका प्रबन्धक वेदप्रकाश शर्मा, कर्मचारी स्पेयर्सपार्ट्स प्रमुख श्रीभगवान साह, प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक शक्ति श्रेष्ठ, स्थानीय सुबोध श्रीवास्तव, संजय मण्डल, लिपनी विर्ता स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा टोलबासीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत वातावरण संरक्षणमा सामुदायिक सहकार्यको आवश्यकता औंल्याइएको सहभागीहरुले बताएका छन्।
५ बर्षमा यो समुहले देशभर ५ लाख विरुवा रोप्ने लक्ष्य राखेको छ ।









