वीरगंज, ७ फागुन –
पर्साको ग्रामीण क्षेत्रमा सुविधासम्पन्न कोइलाभार जंगल रिसोर्ट सञ्चालनमा आएको छ। पर्सागढी नगरपालिका–१ स्थित कोइलाभार मन्दिर परिसरबाट करिब ५ सय मिटर पश्चिम मधुवन मठवल क्षेत्रमा उक्त रिसोर्ट स्थापना गरिएको हो।
बारा जिल्लाको परवानीपुर–५ बहुअरी निवासी समाजसेवी शिवशंकर पटेलका छोरा सुनिल पटेलको करिब ३० लाख रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालकले जानकारी दिएका छन्।
एक समारोहकाबीच पर्सा क्षेत्र नम्बर दुईका नवनिर्वाचित सांसद शुसिल साह कानुले रिसोर्टको उद्घाटन गरेका हुन् । करिब ३ बिगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ३ वटा सुविधासम्पन्न कोठा, रेस्टुरेन्ट लगायत आवश्यक संरचनाहरु निर्माण गरिएको छ।

जंगलको छेउमा शान्त वातावरणमा बसेर खानपिन तथा विश्राम गर्न सकिने उद्देश्यले रिसोर्ट शहरको कोलाहलभन्दा केही टाढा स्थापना गरिएको सञ्चालक पटेलले बताए। रिसोर्टमा दाउराबाट पकाइने विभिन्न शाकाहारी तथा मांसाहारी परिकार सर्वसुलभ मूल्यमा उपलब्ध गराइएको छ।
परिकारमा सिलौटामा पिसिएको मसला प्रयोग गरिने भएकाले परम्परागत देशी स्वाद अनुभव गर्न सकिने सञ्चालकको भनाइ छ। जंगल आसपासको गाउँको झल्को दिने वातावरण सिर्जना गर्दै पर्यटकलाई फरक अनुभूति दिने लक्ष्यका साथ रिसोर्ट सञ्चालन गरिएको उनले बताए।
कोइलाभार मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकहरुले हालसम्म सुविधासम्पन्न होटल तथा रेस्टुरेन्टको अभाव खेप्दै आएको अवस्थामा रिसोर्ट सञ्चालनले उक्त क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने विश्वास गरिएको छ।
रिसोर्टमा लोकल कुखुरा, हाँस, माछा, खसी लगायतका परिकार अर्डर अनुसार पकाइने व्यवस्था गरिएको छ। रिसोर्ट सञ्चालनमा आएसँगै ७ जना स्थानीयले रोजगारी पाएका छन्।










