वीरगंज , चैत ९ –
हरि खेतान बहुमुखी क्याम्पस मा कक्षा १२ को नियमित त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा स्थगित गरिएपछि विद्यार्थीहरूले आइतबार प्रदर्शन गरेका छन् भने अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता जारी रहेको छ।
क्याम्पस प्रशासनले आजदेखि सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थीहरूले कलेजको मुख्यद्वार अगाडि धर्ना दिँदै विरोध प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले परीक्षा निर्धारित समय तालिकाअनुसार सञ्चालन गर्नुपर्ने तथा शैक्षिक गतिविधि प्रभावित हुन नदिन व्यवस्थापन गर्नुपर्ने माग राख्दै क्याम्पस प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले क्याम्पसबाट र्याली निकालेर वीरगंजको घण्टाघर चोकसम्म पुगेर केही समय चक्काजाम गरेका थिए। टायर बालेर प्रदर्शन गर्दा घण्टाघर क्षेत्रको सडक केही समय अवरुद्ध भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। केही विद्यार्थीलाई नियन्त्रणमा लिएको पनि जनाइएको छ।
विद्यार्थीहरूका अनुसार क्याम्पसभित्र प्रशासन, कर्मचारी र सञ्चालक समितिबीचको आन्तरिक विवादका कारण पटक–पटक कक्षा, परीक्षा र शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ। विद्यार्थीहरूले निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा पनि माग गर्दै आएका छन्।
यसैबीच अहिले जिल्ला प्रशासन कार्यालय पर्सा मा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा विद्यार्थी, क्याम्पस प्रशासन र विद्यार्थी युनियनका नेताहरूबीच समस्या समाधानका लागि बैठक जारी रहेको छ। वार्ताबाट सहमति निकाल्ने प्रयास भइरहेको जनाइएको छ।








