नवदुर्गा लजमा भारतीय युवक र युवती झुन्डिएको अवस्थामा शव बरामद

वीरगंज, ८ चैत । वीरगंज स्थित नयाँ बसपार्क चोक नजिक सञ्चालित नव दुर्गा लजमा दुई भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।

लजको पहिलो तल्लामा रहेको कोठा नम्बर १०५ भित्र एउटै सिलिङ फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको पर्सा जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।

मृत्यु हुनेमा भारतको कोलकाता अन्तर्गत कृष्णनगरपुरका ३४ वर्षीय बपन पात्रा र सोही राज्यको विधानगरकी ३२ वर्षीया कविता प्रामिनिक रहेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना आत्महत्या जस्तो देखिए पनि यकिन कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

लज सञ्चालकका अनुसार दुवै जना चैत ४ गते बिहान करिब ११ बजे लजमा बस्न आएका थिए। सोही दिन बाहिर घुमफिर गरी पुनः लजमै फर्किएका उनीहरू आइतबार बिहानसम्म कोठाबाट बाहिर ननिस्किएपछि शंका उत्पन्न भएको थियो।

कोठाको ढोका ढकढक्याउँदा कुनै प्रतिक्रिया नआएपछि लज व्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो। त्यसपछि पुगेको प्रहरी टोलीले भित्रबाट चुकुल लगाइएको ढोका फोडेर हेर्दा दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जनाएको छ।

प्रहरीका अनुसार लजको रजिस्टरमा पुरुषको नाम मात्र दर्ता भएको छ भने महिलाको नाम उल्लेख गरिएको छैन। उनीहरू वीरगंज किन आएका थिए भन्ने विषय अझै खुल्न सकेको छैन।

दुवै जना एउटै कोठामा केही दिनदेखि सँगै बस्दै आएकाले उनीहरूबीच नजिकको सम्बन्ध (प्रेमी–प्रेमिका वा दम्पति) हुन सक्ने अनुमान गरिएको छ।

घटनाबारे लज सञ्चालक तथा कर्मचारीसँग सोधपुछ भइरहेको र अन्य पक्षहरूबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः